काँग्रेस बकैया गाउँपालिका सभापतिमा सुनिल भोम्जनको दाबी

हेटौंडा । नेपाली काँग्रेस बकैया गाउँपालिका कार्यसमितिको सभापति पदमा सुनिल भोम्जनले उम्मेदवारी दिने भएका छन् । काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार हुने गाउँपालिका अधिवेशनमा बकैया–४ का भोम्जनले सभापति पदमा दाबी प्रस्तुत गरेका हुन् ।

१४औँ महाधिवेशनबाट बकैया–४ नम्बर वडा कार्यसमितिको सभापतिको जिम्मेवारी सम्हालेका उनले पार्टीलाई जनताको दैनिक जीवनसँग जोड्दै सामाजिक काममा सक्रिय बनाउने आफ्नो योजना रहेको बताए । उनले जनताको दुःखमा सहयोग पुर्‍याउन पार्टीको पहलमा ‘विपन्न कोष’ स्थापना गर्ने योजना अघि सारेका छन् । उक्त कोषमार्फत आवश्यकता र समस्याका आधारमा विपन्न परिवारलाई सहयोग गर्ने उनको भनाइ छ ।

‘धेरै ठूलो सोच छैन । तर एउटा विपन्न परिवारको विद्यार्थीलाई पार्टीको तर्फबाट ५ सय रुपैयाँ बराबरको स्टेसनरी सामग्री दिन सकियो भने कम्तीमा एक महिनासम्म उसको पठनपाठनमा सहजता हुन्छ,’ उनले भने, ‘यस्ता साना सहयोगले पार्टीको सामाजिक दायित्व पूरा गर्नुका साथै कलिलो मस्तिष्कमा पार्टीप्रति सकारात्मक धारणा विकास गर्न पनि सहयोग गर्छ ।’

उनले पार्टीलाई जनताको सुख-दुःखसँग जोड्दै संगठनलाई थप बलियो र सकारात्मक गतिविधिमा अघि बढाउने आफ्नो कार्ययोजना रहेको बताए । पार्टीभित्रको संगठन सुदृढीकरणसँगै सामाजिक उत्तरदायित्वका कामलाई प्राथमिकता दिने उनको भनाइ छ । अधिवेशनबाट आफू सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित हुने उनको विश्वास छ।

सर्वसम्मत हुन नसकेको अवस्थामा निर्वाचन प्रक्रियामार्फत प्रतिस्पर्धामा जाने र त्यसको परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने उनले बताए। उनले थपे, ‘सर्वसम्मत हुनेमा विश्वस्त छु। तर सहमति हुन सकेन भने निर्वाचनमा जान्छु र परिणामलाई सम्मानपूर्वक स्वीकार गर्छु।’

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.