कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुसन रुम्बाको उम्मेदवारी घोषणा

हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट सुसन रुम्बाले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्थाअन्तर्गत रुम्बाले युवा पुरुषतर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका हुन्। कांग्रेसले १५औँ महाधिवेशनबाट पहिलोपटक ३५ वर्षमुनिका युवाको महाधिवेशन प्रतिनिधिमा प्रतिनिधित्व सुनिश्चित गरेको छ।

प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३ जना ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ। युवाको राजनीतिक सहभागिता र नेतृत्व विकासका लागि पार्टीले गरेको उक्त व्यवस्था महत्वपूर्ण रहेको रुम्बाले बताएका छन्।

यस्तो व्यवस्थाले राजनीतिमा युवाको उपस्थिति बढाउनुका साथै उनीहरूको मनोबलसमेत बढाउने उनको भनाइ छ। ‘युवा देशको कर्णधार हुन्। देश र पार्टीको विकास तथा समृद्धिका लागि आजको आवश्यकता युवा नेतृत्व हो,’ रुम्बाले भने, ‘पार्टीले युवालाई नेतृत्व तहमा पुग्ने अवसर दिनु सकारात्मक छ। प्राप्त अवसरलाई सदुपयोग गर्दै युवाको आवाज पार्टीभित्र प्रभावकारी रूपमा उठाउन चाहन्छु।’

रुम्बाले पार्टी संगठन सुदृढीकरण, नीति निर्माणमा युवाको सहभागिता र नयाँ पुस्ताको आवाजलाई पार्टीभित्र प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको बताएका छन्। उनले कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन तथा युवालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा सक्रिय रूपमा जोड्न आफूले भूमिका खेल्ने बताए।

राजनीतिक तथा विद्यार्थी संगठनमा समेत सक्रिय रुम्बाले दुई कार्यकाल वडा सचिवको जिम्मेवारी बहन गरिसकेका छन्। उनले मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एकपटक उम्मेदवारसमेत बनेका थिए। हाल उनी नेपाल विद्यार्थी संघ मकवानपुरका उपसभापतिका रूपमा क्रियाशील छन्।

पार्टी संगठन र विद्यार्थी राजनीतिमा हासिल गरेको अनुभवलाई महाधिवेशन प्रतिनिधिका रूपमा थप प्रभावकारी ढंगले उपयोग गर्ने रुम्बाले बताएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.