कांग्रेस मकवानपुरका जिल्ला सदस्य घिमिरेद्वारा पार्टी परित्याग

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य रविन्द्र घिमिरेले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी स्वतन्त्र रहने घोषणा गरेका हुन् ।

घिमिरेले पार्टीभित्र पछिल्लो समय निष्ठा, सिद्धान्त र समाजवादभन्दा व्यक्तिवाद, धनवाद तथा नातावादजस्ता प्रवृत्ति हाबी हुँदै गएको आरोप लगाएका छन् । उनले आफूले वि.सं. २०५२ सालदेखि राजनीतिक चेतनाका साथ नेपाली कांग्रेसको सदस्यता लिएर पार्टीका विभिन्न जिम्मेवारीमा रहेर इमानदारीपूर्वक काम गर्दै आएको बताएका छन् ।

नेपालको लोकतान्त्रिक इतिहास बोकेको तथा राणाशासनको अन्त्यका लागि संघर्ष गरेको कांग्रेसले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको त्याग र बलिदानबाट निर्माण भएको पार्टी भएकाले यसले मुलुकमा परिवर्तन ल्याउने विश्वासका साथ आफू राजनीतिमा लागेको उनको भनाइ छ । पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै हाल जिल्ला कमिटीमा रहेको अवस्थामा पछिल्ला दिनमा पार्टीको निष्ठा, सिद्धान्त र समाजवादभन्दा चरम स्वार्थी प्रवृत्तिहरू हाबी हुँदै गएको आफूले महसुस गरेको घिमिरेले बताए ।

‘पार्टीमा इमानदार व्यक्तिहरू पलायन हुँदै जाने र राज्य पूर्ण व्यवस्थित आधारमा चलाउन खोज्ने प्रवृत्ति देखिएको छ,’ उनले भनेका छन्, ‘जनताले पटक–पटक विश्वास गरे पनि ठोस रूपमा काम हुन नसक्दा चरम असन्तुष्टि बढ्दै गएको छ ।’ पार्टीभित्र देखिएका विभिन्न समस्या सुधार गर्न आफूले सुझाव दिँदै आए पनि त्यसलाई बेवास्ता गर्ने परिपाटी देखिएको घिमिरेको गुनासो छ ।

पार्टीको आन्तरिक सुधारका लागि आफूले दिएको सुझावलाई बेवास्ता गर्ने क्रम जारी रहेकाले कांग्रेसमा बसिरहन उचित नदेखिएको उनले बताए । ‘पार्टीभित्र तमाम कुराहरूलाई सुधार गर्न सुझाव दिँदा पनि बेवास्ता गर्दै हिँड्ने परिपाटीले यो पार्टीमा बसिरहन मनासिब नदेखिएको हुँदा आजकै मितिदेखि पार्टीको सम्पूर्ण जिम्मेवारीसँगै साधारण सदस्यसमेत नरहने गरी स्वतन्त्र बस्ने निर्णय गरेको छु,’ उनले थपे।

घिमिरेले कांग्रेस परित्यागसँगै हेटौंडा उपमहानगरपालिकाको खेलकुद समितिको अध्यक्ष पदबाट समेत राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेसको तर्फबाट सिफारिस भई आफू उक्त समितिको अध्यक्ष पदमा नियुक्त भएको उल्लेख गर्दै उनले पार्टीबाट अलग भएपछि समितिको अध्यक्ष पदबाट समेत राजीनामा दिने बताएका हुन् ।

उनले पार्टीमा रहँदा तथा खेलकुद समितिमा काम गर्दा सहयोग गर्ने नेता, कार्यकर्ता, शुभेच्छुक तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरेका छन् । घिमिरेले अब आफू स्वतन्त्र रूपमा रहने बताएका छन् । उनले पार्टी परित्याग गर्नुको मुख्य कारणका रूपमा कांग्रेसभित्र आफूले देखेको व्यक्तिवाद, धनवाद, नातावाद तथा पार्टीको सिद्धान्त र निष्ठाअनुसार काम हुन नसकेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.