मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी (EV) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मंगलबार दिउँसो करिब २ बजे काठमाडौं–वीरगञ्ज सडकखण्डअन्तर्गत हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकमा काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको ईभी सडकबाट करिब १ हजार मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मृतकहरूको नामथर र ठेगाना खुल्न बाँकी छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक बारा कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय अमिर अन्सारीलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ । उनको टाउको, दायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
त्यस्तै, हेटौंडा उपमहानगरपालिका–११ की करिब २३ वर्षीया कल्पना तामाङ पनि गम्भीर घाइते भएकी छन् । उनको ढाड, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बारा महागढीमाई नगरपालिका–११ की करिब २१ वर्षीया बबिया कुमारी यादवको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
यस्तै, नामथर र ठेगाना नखुलेका करिब ३४/३५ वर्षीय एक पुरुष गम्भीर घाइते भएका छन् । बोल्न नसक्ने अवस्थामा रहेका उनको पनि ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ईभीमा चालकसहित आठ जना सवार थिए ।दुर्घटनापछि प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिकसहित २१ जनाको टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा मृत्यु भएका चार जनाको उद्धार तथा सनाखतको काम भइरहेको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













