हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा प्रचार गरेको आरोपमा रामेछापमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले रकम सहयोग गरेको देखाउने नक्कली स्टेटमेन्ट तयार गरेका थिए। कार्कीले च्याटजीपीटीको प्रयोग गरी ई–सेवाबाट १ लाख २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको देखिने नक्कली विवरण तयार गरेका थिए।
उक्त सामग्रीमा आफ्नो क्यूआर कोडसमेत राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइ छ। नक्कली स्टेटमेन्टमा ‘PRIME MINISTER’S DISASTER RELIEF FUND’ को नाममा रकम पठाइएको देखाइएको थियो।
घटनाबारे कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















