काठमाडौं । ‘तामाङ स्रष्टादा डेन, खाबा पुस्तादा ठागे ज्ञान’ भन्ने मूल नाराका साथ तामाङ समुदायको साझा मातृ संस्था नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजना तथा नेपाल तामाङ संस्कृति घेदुङ र झ्याम्याङ लामा प्रतिष्ठानको सहआयोजनामा ‘तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ’ सम्पन्न भएको छ।
तामाङ संस्कार तथा संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको १०७औँ स्मृति दिवस तथा ‘संगीत सम्राट’ गोपाल योञ्जनको ८३औँ जन्मजयन्तीका अवसरमा कार्यक्रम आयोजना गरिएको हो। नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष सञ्चु ब्लोन तामाङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा नेपाल तामाङ संस्कृति घेदुङका संघीय अध्यक्ष छेवाङ तेन्जिङ लामाले स्वागत मन्तव्य व्यक्त गर्दै झ्याम्याङ लामाले तामाङ संस्कार, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र पुस्तान्तरणमा पुर्याउनुभएको योगदानको चर्चा गरे। लेखक तथा अनुसन्धानकर्ता रवीन्द्र ग्याबक–तामाङले झ्याम्याङ लामाले तामाङ समुदायको संस्कार, संस्कृति तथा मौलिक पहिचानका क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै उहाँको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारे।
कार्यक्रममा झ्याम्याङ लामाकै शब्द रचनामा रहेको ‘सा छ्या, नम छ्या’ (सृष्टिको गीत) तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तानले प्रस्तुत गरेका थिए। त्यसैगरी वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान, वरिष्ठ गायिका कुन्ती मोक्तान तथा वरिष्ठ गायक एवं संगीतकार चन्द्रबहादुर दोङको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ संगीतकार तथा सेलो गायक चन्द्रकुमार दोङलाई विशेष सम्मानसमेत गरिएको थियो।
वरिष्ठ गायिका कुन्ती मोक्तानले संगीत सम्राट गोपाल योञ्जनका गीत प्रस्तुत गरेकी थिइन् भने छेवाङ तेन्जिङ लामाले गोपाल योञ्जनको गायन, शब्द तथा संगीत रहेको ‘ङाला डम्फु’ प्रस्तुत गरेका थिए। कार्यक्रममा तामाङ भाषा, संस्कार, संस्कृति, संगीत तथा मौलिक पहिचानको संरक्षण र पुस्तान्तरणमा जोड दिइएको थियो। प्रमुख अतिथि एवं नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोनले घेदुङ अब नयाँ ढंगले सहकार्य गर्दै सबैको आशा र गर्वको संस्था बनाउने अभियानमा अघि बढिरहेको बताए।
आयोजकका अनुसार तामाङ समुदायको मौलिक संस्कृति, परम्परा र सिर्जनालाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। वरिष्ठ उपाध्यक्ष सञ्चु ब्लोनको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव लिलाकुमार ग्लानले गरेका थिए।
यसैबीच, नेपाल तामाङ घेदुङले सोमबार बिहान १० बजे घेदुङ सभाहलमा ‘तामाङ ज्ञान–संस्कृति विमर्श कार्यक्रम’ आयोजना गर्ने भएको छ। कार्यक्रममा तामाङ समुदायका अग्रज एवं विशिष्ट व्यक्तित्व मानवशास्त्री डा. मुक्तसिं थोकर, संस्कृतिविद् बुद्धि तामाङ, भाषा तथा लिपिविज्ञ अजितमान तामाङ, राजेन्द्र थोकर तामाङ तथा वरिष्ठ पत्रकार कुमार यात्रु-तामाङले कार्यपत्र प्रस्तुत गर्नेछन्। साथै भारतको सिक्किमका डा. चन्द्रा योञ्जन तामाङले अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।













