हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१९ बासुदेवस्थित खहरेमा बगेर मृत्यु तथा घाइते भएका बालिकाका परिवारलाई आर्थिक सहयोग गरेको छ।
शनिबार कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको नेतृत्वमा पार्टीका प्रतिनिधिहरू घटनाबाट प्रभावित बालिकाका घरमै पुगेर सम्बन्धित परिवारलाई जनही २५ हजार रुपैयाँ राहतस्वरूप हस्तान्तरण गरेका हुन्।
सो क्रममा कांग्रेस प्रतिनिधिहरूले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।
गत भदौ २ गते विद्यालयबाट घर फर्कने क्रममा हेटौंडा–१९ बासुदेवस्थित खहरेमा आएको भेलले निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत चार बालिकालाई बगाएको थियो। घटनामा तीन बालिकाको मृत्यु भएको थियो भने एक बालिकालाई सकुशल उद्धार गरिएको थियो।
घटनामा ८ वर्षीया रोसनी स्याङ्ताङ, १२ वर्षीया बिनिता ब्लोन र ११ वर्षीया सुमित्रा ब्लोनको मृत्यु भएको हो। १३ वर्षीया सिमा भोलन भने सकुशल उद्धार भएकी थिइन्।
कांग्रेस मकवानपुरका सभापति लामाले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताए।
उनले विपद्को समयमा पीडित परिवारसँग कांग्रेस मकवानपुर साथमा रहेको समेत बताए।













