बकैयामा फोर्स गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पती घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–४ पानधुरे चोकमा फोर्स गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पती घाइते भएका छन्।

मंगलबार दिउँसो करिब २ः२० बजे गाईघाटबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०३८७ नम्बरको फोर्स गाडीले हेटौंडाबाट पानधुरेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ६५३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक बकैया–७ हात्तिखोलाका ६३ वर्षीय यज्ञप्रसाद सापकोटा घाइते भएका छन्। उनको बायाँ खुट्टा, हात तथा शरीरका अन्य भागमा चोट लागेको छ।

मोटरसाइकलको पछाडि सवार उनकी ६० वर्षीया श्रीमती सीता दाहाल पनि घाइते भएकी छन्। उनको अनुहार, बायाँ हात, बायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

दुवै घाइतेको अवस्था मध्यम रहेको र उपचारका लागि सीएमसी हेटौंडा अस्पताल पठाइएको छ। प्रहरीका अनुसार दुवै सवारी चालकले मादक पदार्थ सेवन नगरेको पाइएको छ। मोटरसाइकल चालकसँग आवश्यक कागजपत्र नभएको र फोर्स गाडीको कागजपत्र भने साथमा रहेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल, फोर्स गाडी र फोर्स गाडी चालक हेटौंडा उपमहानगरपालिका–१ का २९ वर्षीय अच्युत न्यौपानेलाई प्रहरी चौकी हात्तीसुँडेको नियन्त्रणमा राखिएको छ। दुर्घटनास्थल प्रहरी चौकी हात्तीसुँडेबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.