हेटौंडा । साहसिक रियालिटी शो ‘हिमालय रोडिज’को आठौं सिजनको प्रि-अडिसन आज हेटौंडामा हुँदैछ।
यामाहा रेसिङले आयोजना गर्ने प्रि-अडिसन राज मोटर्सस्थित यामाहा शोरुममा बिहान ११ बजेदेखि सुरु हुनेछ। यामाहा नेपालले सामाजिक सञ्जालमार्फत इच्छुकलाई सहभागी हुन आह्वान गरेको छ।
‘हिमालय रोडिज’ सिजन-८ को थिम ‘एटिट्युड भर्सेस अल्टिच्युड’ रहेको छ। प्रि-अडिसनबाट छनोट हुने प्रतिस्पर्धीले ब्लु टिकटमार्फत पीआई राउन्डमा सिधै प्रवेश गर्ने अवसर पाउनेछन्।
यस सिजनमा रेमनदास श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछन्। ग्याङ लिडरका रूपमा अनुपविक्रम शाही, आशिष राना ‘लाउरे’ र माल्भिका सुब्बा रहेका छन् भने चौथो ग्याङ लिडरको नाम सार्वजनिक गरिएको छैन।
अगस्ट १५ मा धरानबाट सुरु भएको प्रि-अडिसन आज हेटौंडासँगै बुटवलमा हुँदैछ। त्यसपछि बर्दिबास, धनगढी र काठमाडौंमा प्रि-अडिसन हुने तालिका छ।
रोडिजमा सहभागी हुन इच्छुकले यामाहा नेपालको अनलाइन माध्यमबाट फारम लिएर नजिकको यामाहा शोरुममा बुझाउन सक्नेछन्।














