कालीलेक वनमा फलफूलका ५५ बिरुवा रोपिए

हेटौंडा । कालीलेक सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै स्थानीय कृषकको बालीमा हुने बाँदरको प्रकोप नियन्त्रण गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ।

समूहको आफ्नै लगानीमा विभिन्न फलफूल तथा बहुउपयोगी प्रजातिका ५५ वटा बिरुवा रोपिएको समूहका उपाध्यक्ष नवीन बिष्टले जानकारी दिए । उनका अनुसार बाँदरको प्रकोप नियन्त्रण गर्न वन क्षेत्रमा फलफूलका बिरुवा रोपेर वन्यजन्तुलाई वनमै आहारको व्यवस्था गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

वृक्षरोपण कार्यक्रममा अमला, फलिट, कटहर, अम्बा, जामुन, इमिली, हर्रो र बर्रो लगायतका प्रजातिका बिरुवा रोपिएका छन्। वन क्षेत्रमा फलफूलका बिरुवा हुर्किएसँगै वन्यजन्तुले आवश्यक आहार वनमै प्राप्त गर्ने र आसपासका बस्ती तथा खेतीबालीमा हुने क्षति कम हुने समूहको अपेक्षा छ।

“समूहले आफ्नै लगानीमा फलफूलका बिरुवा खरिद गरी रोपण गरेको हो। अन्य सामुदायिक वन उपभोक्ता समूहहरूले पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ। यस्ता कार्यक्रमलाई स्थानीय सरकारले समेत प्रोत्साहन गर्न आवश्यक छ,” उपाध्यक्ष बिष्टले थपे।

समूहले वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षण, सिँचाइ तथा नियमित हेरचाहमा समेत ध्यान दिने जनाएको छ। कार्यक्रमले वन संरक्षण, जैविक विविधताको संरक्षण तथा स्थानीय कृषकको बाली जोगाउन योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.