हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ फायरलाइनस्थित सामुदायिक वनमा फेला परेकी पहिचान नखुलेकी महिलाको शवको सनाखत हुन नसकेपछि मकवानपुर प्रहरीले पुनः स्केच सार्वजनिक गरेको छ।
गत साउन २२ गते दिउँसो करिब १ः५० बजे फायरलाइनस्थित सामुदायिक वन क्षेत्रमा सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको अवस्थामा महिलाको शव फेला परेको थियो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतक महिला अन्दाजी ३० देखि ३२ वर्षकी छन्। उनको उचाइ करिब ५ फिट ९ इन्च, तौल करिब ५० देखि ५५ किलो, गहुँगोरो वर्ण, गोलो अनुहार र करिब ३४ इन्च लामो कालो कपाल रहेको छ।
मृतकले गुलाबी रंगको कुर्ता र सेतो सुरुवाल लगाएकी थिइन्। कुर्ताको अगाडिको छातीको भागमा सेतो फूलबुट्टा रहेको प्रहरीले जनाएको छ। दुवै हातमा हरियो–रातो रंगको लहठी (चुरा), दुवै खुट्टाको बुढी औँलासँगैको दोस्रो औँलामा चाँदीजस्तो देखिने बिछिया, नाकमा फुली, घाँटीमा पहेँलो धातुमा रातो मोती जडित माला र बाँया कानमा सुनजस्तो पहेँलो धातुको मुन्द्रा लगाएको अवस्थामा शव फेला परेको थियो।
त्यस्तै, मृतकको कपालमा सेतो रंगको ‘बटरफ्लाई’ डिजाइनको क्लिप रहेको प्रहरीले जनाएको छ। दुवै कानमा माथिल्लो भागतर्फ छेडेको र कानमा टप लगाएको विवरणसमेत प्रहरीले सार्वजनिक गरेको छ।
शवको पहिचान अझै खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेषज्ञमार्फत तयार गरिएको स्केच तथा मृतकको हुलिया, कपडा र गहनाको विवरण पुनः सार्वजनिक गरेको हो।
प्रहरीले उक्त स्केच र विवरणका आधारमा मृतक महिलालाई चिन्नुहुने व्यक्ति, आफन्तजन वा उनको अवस्थाबारे कुनै जानकारी भएका व्यक्तिलाई प्रहरीमा खबर गरी पहिचान तथा सनाखतमा सहयोग गर्न अनुरोध गरेको छ।
मृतक महिलाको पहिचान खुलाउन सक्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोबाइल नम्बर ९८५५०९०१५० मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।
प्रहरीले मृतकको पहिचानसँगै घटनाको कारण र संलग्न व्यक्तिबारे समेत थप अनुसन्धान गरिरहेको जनाएको छ।














