हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पतालहरूको सेवा गुणस्तर, पूर्वाधार तथा उपकरणको अवस्थाबारे अनुगमन गरेको छ।
नगर प्रमुख मीनाकुमारी लामा नेतृत्वको टोलीले विभिन्न अस्पतालहरूको स्थलगत निरीक्षण गरेको हो। अनुगमनका क्रममा हेटौंडा–६ मा समुदायको समेत लगानीमा सञ्चालनमा रहेको सिद्धस्थली कम्युनिटी अस्पतालको निरीक्षण गरिएको छ।
निरीक्षणका क्रममा अस्पतालको भौतिक पूर्वाधार तथा स्वास्थ्य उपकरणको अवस्था सन्तोषजनक देखिएको उपमहानगरपालिकाले जनाएको छ। बजार क्षेत्रभन्दा केही टाढा भए पनि अस्पतालले नगरवासीलाई आवश्यक सेवा प्रदान गरिरहेको उल्लेख गरिएको छ।
अस्पतालमा ओपीडी (बहिरंग सेवा), आकस्मिक (इमर्जेन्सी), सामान्य चिकित्सा, स्त्री तथा प्रसूति, बालरोग सेवा, प्रयोगशाला (ल्याब), एक्स–रे तथा अल्ट्रासाउन्ड सेवा सञ्चालनमा रहेका छन्। केही दिनदेखि सेवा अवरुद्ध भएको सूचनापछि टोलीले स्थलगत रूपमा पुगेर वस्तुस्थिति बुझी आवश्यक पहल गर्ने बताइएको छ।
यसै क्रममा अनुगमन टोलीले हेटौंडा–२ स्थित निको अस्पताल र हेटौंडा–१ मा रहेको हेटौंडा सिटी अस्पतालको समेत निरीक्षण गरेको छ। निरीक्षणमा सेवा प्रवाह, व्यवस्थापन तथा विशेष गरी ल्याब सेवासम्बन्धी विषयमा छलफल गरिएको थियो।
अनुगमनमा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारी, कानुन अधिकृत लक्ष्मण मैनाली लगायतको सहभागिता रहेको थियो। उपमहानगरपालिकाले स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर सुधारका लागि यस्ता अनुगमनलाई निरन्तरता दिनेमा जोड दिएको छ।
















