मकवानपुरको कैलाशमा बाँदरको आतंक बढ्दो, किसान चिन्तित

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न बस्तीहरूमा बाँदरको आतंक बढ्दै जाँदा स्थानीय किसानहरू चिन्तित बनेका छन्। स्थानीय किसान देवीलाल थिङका अनुसार २०० देखि ५०० सम्मको संख्यामा आउने बाँदरका हुलले मकैका बिरुवा तथा चिचिला मकै व्यापक रूपमा नष्ट गरिरहेका छन्।

छापडाँडा, पोखी, मरेङकोट, सुदे लगायतका क्षेत्रमा बाँदरले ठूलो मात्रामा कृषि बालीमा क्षति पुर्‍याएको गुनासो गरिएको छ। किसानहरूले समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधिसँग पटक–पटक गुनासो गरे पनि प्रभावकारी पहल हुन नसकेको बताएका छन्।

देवीलाल थिङका अनुसार जनप्रतिनिधिहरूले कृषि शाखासँग समन्वय गरी बाँदर नियन्त्रणको प्रयास गर्ने आश्वासन दिए पनि लामो समय बितिसक्दा समेत सम्बन्धित निकायबाट ठोस पहल हुन सकेको छैन। बाँदरको आतंकका कारण धेरै किसानको वर्षभरिको मेहनत खेर गएको उनको भनाइ छ।

थिङले समस्या गम्भीर बन्दै गएपछि वडा कार्यालय र गाउँपालिकामा पटक–पटक फोन सम्पर्क गर्न खोज्दा समेत कतिपय अवस्थामा फोन नउठाइएको गुनासो गरे। उनले सम्बन्धित निकायले तत्काल ध्यान दिएर बाँदर नियन्त्रण तथा किसानको क्षति न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्।

स्थानीय किसानहरूको भनाइअनुसार समयमै समस्या समाधान नभए आगामी दिनमा कृषि उत्पादनमा थप असर पर्ने र किसानको जीविकोपार्जनमा संकट आउन सक्ने देखिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.