हेटौंडा म हेटौंडा ७ मा रहेको तासिर अंग्रेजी माविमा शिक्षकको कुटाइबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् । कक्षा ८ मा अध्ययनरत हेटौंडा ७ का १२ वर्षीय सबिर भुजेल विद्यालयका सामाजिक विषय शिक्षक अच्युत ओझाको कुटपिटका कारण गम्भीर घाइते भएका हुन् ।
जेठ ७ गते विद्यालयबाट घर फर्किएका सबिर टाउको दुख्न थालेको भन्दै थला परेका थिए । भोलीपल्टदेखि टाउको सुनिन थालेपछि उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो ।
त्यहाँ गरिएको सिटी स्क्यान रिपोर्ट सामान्य आएको भन्दै घर पठाइएको परिवारको आरोप छ । तर अवस्था सुधार नभई झन् बिग्रिएपछि उनलाई थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल लगिएको थियो ।
सीएमसी अस्पतालमा गरिएको परीक्षणका क्रममा टाउकोमा रगत जमेको भेटिएपछि चिकित्सकले शल्यक्रिया गरी रगत निकालेका थिए । केही दिनपछि घर ल्याएपनि अवस्था सुधार नभएपछि पुनः अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ ।
परिवारका सदस्यका अनुसार सबिरको शुक्रबार पुनः शल्यक्रिया गरी टाउकोमा जमेको रगत निकालिएको छ । चिकित्सकले बालकको अवस्था गम्भीर रहेको बताएका छन् ।
सिविन नेपाल मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले शिक्षकले कक्षामा प्रश्न सोध्दा उत्तर दिन नसकेपछि सबिरको कपाल तानेर ढाडमा कुटपिट गरेको जानकारी पाएको बताए । परिवारका अनुसार घटनाअघि बालकमा कुनै स्वास्थ्य समस्या थिएन र सोही दिन रातिबाट मात्रै समस्या देखिएको हो । विद्यालयले सबिरको सुरुदेखि नै उपचार खर्च व्यहोर्दै आएको थियो ।
यस घटनाको विषयमा छानबीन गरी दोषीलाइ कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन समेत परेको छ । परिवारले हेटौंडा अस्पतालको उपचार प्रक्रियामाथि पनि प्रश्न उठाएको छ ।
प्रारम्भिक सिटी स्क्यान रिपोर्ट सामान्य भनिएपनि चितवनस्थित सीएमसी अस्पतालमा सोही रिपोर्ट हेरेर चिकित्सकले टाउकोमा रगत जमेको निष्कर्ष निकालेका हुन् । विद्यालयका संस्थापक राजन थापाले भने घटना बारे प्रतिक्रिया दिनै खोजेनन् ।















