हेटौँडामा आजबाट प्रदेश युवा सम्मेलन २०८२ सुरु

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेश युवा सम्मेलन २०८२ सुरु भएको छ । देशभरको सात वटै प्रदेशका ३ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको उक्त सम्मेलन प्रदेश युवा परिषद् बागमतीको आयोजनामा आजबाट सुरु भएको हो ।

वैशाख ३० गतेसम्म ३ दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सरकार र युवालाई एउटै थलोमा उपस्थित गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको जानकारी दिए । प्रदेश सरकारले युवाको क्षेत्रमा देखिने गरी काम गरेको समेत उनको भनाई छ ।

कार्यकारी उपाध्यक्ष चौलागाईले युवाहरुलाई प्रदेशदेखि स्थानीय तहसम्मै नीति निर्माणमा उपस्थिति गराउनुपर्ने बताए । प्रदेश सरकारले युवा ऐन निर्माण गरेर रणनीतिक योजनाका साथ काम गरिरहेको उनले बताए ।

कार्यकारी उपाध्यक्ष चौलागाईले कृषि प्रणालीलाई वैज्ञानिक र आधुनिकीकरण गर्न सम्मेलनलाई कृषिका विषयवस्तुलाई उच्च प्राथमिकता दिएको बताउँदै ६२ प्रतिशत युवाहरु कृषिमा संलग्न भएको अवस्थामा समेत निर्यात भन्दा पनि आयात धेरै हुनु दुःखद पक्ष भएको बताए ।

सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरुसँग प्यानल छलफल र कार्यशाला गोष्ठी आयोजना हुने जनाइएको छ ।

सो उद्घाटन कार्यक्रम पूर्व विभिन्न भेषभुषा, साँस्कृतिक झाँकी, नेपाल प्रहरीको ब्यान्ड बाजा सहित हेटौंडाको बुद्धचोकबाट मुख्यमन्त्री लामा, प्रदेश सरकारका मन्त्रीहरु समेतको सहभागितामा प्रभातफेरीको आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.