हेटौंडा । दलित महिला संघ (फेडो) मकवानपुरले सामाजिक न्याय र विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका लागि हेटौंडा ११ मा सार्वजनिक संवाद तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । फाउन्डेसन फर अ जस्ट सोसाइटीको सहयोगमा फेडोले शुक्रबार वडा कार्यालयमा संवाद तथा छलफल कार्यक्रमको आयोजना गरेको हो ।
फेडोका अध्यक्ष पवित्रा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । वडा अध्यक्ष दाहालले वडाका दलित महिलाहरुसंग छलफल गर्न पाउँदा खुसी लागेको बताउँदै दलित समुदायको सशक्तिकरणमा सहयोग र सहकार्य गर्न तयार रहेको धारणा राखिन् ।
‘वडामा विशेषगरी विकास निर्माणका कार्यको माग बेसी आउने गरेको छ । दलित समुदायसँगकै सल्लाहमा आयआर्जन हुने कार्यक्रमलाई प्राथमिकता दिँदै जानेछौं’, उनले भनिन्, ‘जात भन्दा पनि वर्ग हेर्न जरुरी रहेको देखिएको छ । दलित महिला सदस्यमार्फत धेरै योजनाहरु आउने गरेका छन् । हामीले दलित समुदायको हकहितमा सकेको राम्रो काम गरिरहेका छौं ।’
विपन्न तथा दलित समुदायको अध्ययनमा सघाउ पु¥याउने उद्देश्यसहित वडाका ३ वटा विद्याललाई बजेट छुट्याएर एकमुष्ठ प्रदान गर्दै आएको वडा अध्यक्ष दाहालले जानकारी दिइन् । कार्यक्रममा दलित महिला वडा सदस्य गीता सुनारले समाजमा अझै जातकै आधारमा धेरथोर भेदभाव कायमै रहेको धारणा राखिन् । सुत्केरी, बिरामी र मान्छे बितेको ठाउँमा जाँदा नजानिदोसँग विभेद भोग्नुपर्ने अवस्था रहेको उनले सुनाइन् ।
फेडोका जिल्ला सदस्य सतिकला विश्वकर्मा, स्मारक दलित महिला समूह अध्यक्ष टक्कु विश्वकर्मा लगायतले छुवाछूत र भेदभाव कायमै रहेको बताइन् ।
सामाजिक न्याय र विकास प्रक्रियामा दलित महिलाहरुको पहुँच बढाउने उद्देश्यका साथ वडामा पुगेर जनप्रतिनिधिसहित दलित महिला र सरोकारवाला राखेर छलफल कार्यक्रमको आयोजना गरिएको फेडो मकवानपुर अध्यक्ष पवित्रा विश्वकर्माले जानकारी दिइन् । कार्यक्रममा फेडो मकवानपुर उपाध्यक्ष सुनिता दर्नाल, ११ नम्बरका न्यायिक समिति संयोजक शर्मिला अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

















