हेटौंंडा । हेटौंडाका दुई ठूला सामुदायिक विद्यालयलाई एकीकृत गर्दै मेघा विद्यालय निर्माण गर्ने लक्ष्यसहितको टोलीले बुटवलमा रहेको कालिका मानवज्ञान विद्यालयको अवलोकन गरेको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा भुटनदेवी माविका अध्यक्ष नवीन सिग्देलसहित आधुनिक माविका अध्यक्ष समिम खान, प्रधानाध्यापक रामसागर गुरागाई, भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहाल, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का संयोजक श्रीराम दाहाल, र हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत हरिषचन्द्र सापकोटासहितको टोलीले कालिका मानवज्ञान विद्यालयको अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा टोलीले मर्ज गरिएका विद्यालयहरूको व्यवस्थापन, कर्मचारी तथा विद्यार्थीहरूको व्यवस्थापन, चुनौती, संभावना र अवसरका विषयमा जानकारी लिएको थियो। कालिका मानवज्ञानका प्रधानाध्यापक दिनेश थापाले विद्यालय मर्ज गर्दा व्यवस्थापन समितिको सहकार्य र स्थानीय सरकारको समन्वयले समस्याहरू समाधान गर्न सकिने बताए।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष वलबहादुर पुनले हेटौंडामा मेघा विद्यालय निर्माणको प्रयासलाई सराहना गर्दै अनुभव साझेदारीमार्फत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले सिमानासँग जोडिएका दुई विद्यालयलाई एकीकृत गरी देशकै ठूलो र नमुना विद्यालय बनाउने अभियानलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए।
हाल आधुनिक माविमा २८०० विद्यार्थी र भुटनदेवी माविमा २२०० विद्यार्थी अध्ययनरत छन्। दुबै विद्यालय मर्ज गरिएमा करिब ५००० विद्यार्थी हुनेछन्। भुटनदेवी माविमा प्राविधिक धारका विषय पनि अध्यापन गराइन्छ। अवलोकन भ्रमणमा दुबै विद्यालयका व्यवस्थापन समितिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

















