मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीमा मंगलबार बिहान बसले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।
रौतहटबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–००६ ख ९९५० नम्बरको यात्रुवाहक बसले मनहरीबाट ज्यामिरेतर्फ जाँदै गरेको ना.२२ प १९५५ नम्बरको स्कुटरलाई मंगलबार बिहान करिब १२ः३५ बजे ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटर चालक राक्सिराङ गाउँपालिका–३ केरावारीका करिब २३ वर्षीय युवराज थोकर र स्कुटरको पछाडि सवार सोही स्थानका करिब २६ वर्षीय पासाङ कुमार घलान घाइते भएका छन्। थोकरको अनुहार तथा शरीरमा र घलानको शरीरका विभिन्न भागमा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर, चितवन पठाइएकोमा मौलाकाली अस्पताल भरतपुरमा उपचार भइरहेको छ।
दुर्घटनापछि बस चालक बारा, जितपुर–सिमरा उपमहानगरपालिका–४ का करिब ३४ वर्षीय जितेन्द्र चौधरीले बससहित इलाका प्रहरी कार्यालय मनहरीमा सम्पर्क गरेका थिए। प्रहरीले बस, चालक र स्कुटरलाई नियन्त्रणमा लिएर कार्यालयमा राखेको छ।
चालकले मादक पदार्थ सेवन नगरेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब दुई किलोमिटर पूर्वतर्फ पर्छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।














