मनहरीमा अटोलाई मोटरसाइकलले ठक्कर दिँदा दुई जना घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीमा अटोलाई मोटरसाइकलले ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ७ः४० बजे महेन्द्र राजमार्गमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०३–००२ प ४३० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–००३–१ ह ३७८ नम्बरको अटोको पछाडिको भागमा ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बाटो क्रस गर्न अटो दायाँतर्फ मोडिने क्रममा पछाडिबाट आएको मोटरसाइकलले अटोलाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१२ झाँडिटोलका २६ वर्षीय गणेश भट्टराई घाइते भएका छन्। उनको दुवै हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार हेटौंडा–१२ कै २२ वर्षीया संगिता राईको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेकि छन्।

दुवै घाइतेको मनहरी अस्पतालमा उपचार भइरहेको छ। अटो चालक मनहरी गाउँपालिका–९ ज्यामिरेका २२ वर्षीय सम्पूर्ण सुनार भने सकुशल छन्।

दुर्घटनामा मोटरसाइकलको अगाडिको भाग र अटोमा सामान्य क्षति पुगेको छ। दुर्घटनामा संलग्न मोटरसाइकल, अटो तथा अटो चालक सुनारलाई इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा राखिएको छ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब तीन किलोमिटर पूर्वमा पर्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.