बकैयामा पहिरोले २ घरमा क्षति, अन्नपात पुरियो

मकवानपुर । अविरल वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–१२ तामाचौरमा पहिरो जाँदा दुई घरमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब १०:३० बजेको समयमा परेको अविरल वर्षासँगै आएको लेदो सहितको पहिरो स्थानीय ३६ वर्षीय अनिल स्याङ्तानको इट्टाले बनेको टिनले छाएको एकतले घरमा पसेको हो। पहिरोले घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायत सामग्री पुरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, सोही स्थानका ४७ वर्षीय बिबै सिंह स्याङ्तानको इट्टाले बनेको टिनले छाएको एकतले घरमा समेत आंशिक क्षति पुगेको छ। पहिरोका कारण घरको एक पिलरमा क्षति पुगेको छ भने उनको मकैबारीसमेत नोक्सान भएको छ।

घटनाबारे दिउँसो करिब ४:२० बजे वडा नं. १२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीका अनुसार उक्त घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको र क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.