हेटौंडामा लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत दुई जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

मंगलबार बेलुका जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहतबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टमा सवारी साधन जाँच गर्ने क्रममा वीरगञ्जबाट दाङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०५५५ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गरेको थियो।

उक्त बसमा सवार बाराको निजगढ नगरपालिका–२ निवासी अन्दाजी २५ वर्षीय आर्यन घिमिरेको साथमा रहेको झोलाबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल ५४ पत्ता (५४० ट्याब्लेट) र नाइट्राजेपाम ५ पत्ता (४८ ट्याब्लेट) बरामद गरिएको प्रहरीले जनाएको छ। नाइट्राजेपाममध्ये २ वटा ट्याब्लेट सेवन गरिएको अवस्थामा खाली फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

यसैगरी, हेटौंडा उपमहानगरपालिका–१० बसपार्क क्षेत्रबाट काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० निवासी ३७ वर्षीय देव श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २४० मिलिग्राम बरामद गरिएको छ।

प्रहरीले दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि म्याद थप गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.