हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले सामाजिक सञ्जालमार्फत आफूलाई बलात्कार गर्ने धम्की आएको सार्वजनिक गरेकी छन्। नगरलाई महिला मैत्री सहर घोषणा गर्न लागिएको संवेदनशील घडीमा आएको यस्तो धम्कीले समाजको वास्तविक अनुहार देखिएको उनले लेखेकी छन्।
फेसबुकमा लामो स्टाटस लेख्दै उनले भनेकी छन्, “महिला भएर जन्मनु जति गर्वको कुरा हो, नेपाली समाजमा महिला भएर बाँच्नु त्यति सजिलो छैन। जेनजी आन्दोलनपछि मैले यो समाजको वास्तविक अनुहार देखेकी छु।” उनका अनुसार फेसबुक र ह्वाट्सएपको इनबक्समा उनलाई बलात्कार गर्ने धम्कीका थुप्रै सन्देशहरू आएका छन् ।
लामाले लेखेकी छन्, “राति राति फोन गरेर ‘एक पटक भेटेर बसेर विवाद टुङ्याउँ’ भन्ने प्रस्तावहरू आउँथे। माफ मागे पनि अर्थ राख्दैनथ्यो। मधेश प्रदेशको विरोधी बनाएर अनेक आरोप लगाइयो।” उनले आफूलाई लक्षित गरेर गरिएका आक्रमण र धम्कीका बीच पनि नगरका महिलाको पक्षमा काम रोकिएको छैन बताइन्।
उनीले हेटौंडालाई महिला मैत्री सहर घोषणा गर्नका लागि सहयोगी दातृ संस्था युएनओपीएस (UNOPS)सँग सम्झौता सम्पन्न भएको जानकारी दिँदै भनिन्, “सम्झौता गरिरहँदा पनि ती धम्की दिने युवाहरू सम्झिरहेकी थिएँ । एउटी महिला, त्यो पनि नगर प्रमुख, बलात्कारको धम्की सहनुपर्ने समाजमा सामान्य महिला कति सुरक्षित होलिन्?”
लामाले लेखेकी छन्, “एउटी नारी बलात्कृत हुन जन्मएकी होइन। एउटी नारीको उपयुक्तता यौन होइन। नारीले गल्ती गरेकी छ भने सजाय कानुनी हुनुपर्छ, बलात्कार होइन।”
उनले नगरलाई महिला मैत्री सहर घोषणा गर्नुभन्दा ठूलो चुनौती समाजको नकारात्मक सोच परिवर्तन गर्नु रहेको उल्लेख गरेकी छन्। “सहरलाई महिला मैत्री बनाउनु ठूलो कुरा होइन, नकारात्मक चिन्तनलाई सकारात्मक दिशामा बदल्नु नै चुनौती हो,” उनले भनिन्।
महिला मैत्री सहर घोषणा कार्यक्रमका क्रममा प्रमुख लामाले युएनओपीएसका कन्ट्री डायरेक्टर कोमल कार्की, सरोज दाहाल, सम्पदा थापा लगायत नगरका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाप्रति आभार व्यक्त गरेकी छन्।
तर बलात्कारका धम्कीका सन्देशहरू सार्वजनिक भएपछि हेटौंडा उपमहानगर प्रमुखकै सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताप्रति चिन्ता बढेको छ। उनले अन्त्यमा लेखेकी छन्, “वहुमत सज्जन पुरूषकै अगाडि पनि नेपाली महिला खुलेआम बलात्कृत हुन सक्छिन् । यो यथार्थ हो, जसले म मात्र होइन, सम्पूर्ण नारी डराएको छ।”















