हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधान नेपाली जनताको लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको बताएका छन् । संविधान दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले आन्दोलनका क्रममा सार्वजनिक र व्यक्तिको सम्पत्तिको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दैै सो कुराको स्मरण गराएका हुन् ।
उनले सो संविधानबाट आर्जित महत्वपूर्ण उपलब्धीको रक्षाका निम्ति संविधानको सफल कार्यान्वयन आवश्यक रहेको बताए । प्रदेश सरकारलाई मितव्ययी बनाई नागरिकलाई अधिकतम सेवा सुविधा प्रदान गर्न प्रदेश सरकार अन्तरगतका सवै निकायका फजुल खर्च कटौती गर्ने प्रकृया सुरू भइसकेको जानकारी दिए ।
डिजिटल युग र नयाँ पुस्ताको सोच बमोजिम सेवा प्रवाह र निर्णय प्रकृयालाइ छिटो छरितो र परिणाममुखी बनाउने तयारी आफूले गरेको उनको भनाई छ । उनले केही दिन अघिको जेन–जी आन्दोलनमा भएको क्षतिको पुर्ननिर्माण गरी दैनिक सेवा प्रवाहलाई निरन्तरता दिने बताए ।
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरे । साथै उनले घाइतेहरुको उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने समेत मुख्यमन्त्री बानियाँले जानकारी दिए ।















