हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधानले नेपाली जनतालाई समानता, मौलिक अधिकार, सामाजिक न्याय र सुशासनको मार्ग देखाएको बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधान लामो संघर्ष, त्याग र बलिदानको परिणामस्वरूप जारी भएको स्मरण गरे । मुख्यमन्त्री बानियाँले २०६२÷०६३ को जनआन्दोलन र २०७२ असोज ३ गते संविधानसभाबाट जारी संविधानलाई ऐतिहासिक उपलब्धि भन्दै यसको पूर्ण कार्यान्वयनतर्फ सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
उनले संघीयता कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य र समन्वयलाई अपरिहार्य बताए। साथै, सुशासन, न्याय, अधिकार र विकासका लक्ष्य प्राप्तिका लागि नागरिक, राजनीतिक दल र राज्यका निकायहरू सबै एकजुट हुनुपर्नेमा उनले ध्यानाकर्षण गराए ।
मुख्यमन्त्री बानियाँले संविधान दिवसले राष्ट्रिय एकता, स्वाभिमान र समृद्ध नेपाल निर्माणको प्रेरणा दिने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई हार्दिक शुभकामना दिएका छन् ।















