हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडास्थित त्रिभुवन राजपथ सडकखण्ड पूर्ण रुपमा सुचारु भएको छ । गएराति माथिबाट ढुङ्गासहित रुखहरु खस्दा बाटो अवरुद्ध बनेको उक्त सकडखण्ड आज दिउँसो साढे २ बजेबाट पुर्ण रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार, अवरुद्ध सम्बन्धी खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैसेबाट टोली खटिएको र सडक विभागसँग समन्वय गरी बाटो खुलाउने कार्य गरिएको थियो । उक्त स्थान प्रहरी चौकी भैसेबाट करिब २२ किलोमिटर पश्चिम–उत्तरतर्फ पर्दछ ।
यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेस्थित दक्षिणकाली (सिस्नेरी–फर्पिङ जाने) सडकखण्ड अवरुद्ध भएको छ । शनिबार बिहान करिब ९ः३० बजे माटो र ढुङ्गासहितको सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट टोली खटिएको र जेसीभी चालकसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको उनको भनाई छ । उक्त स्थान प्रहरी चौकी सिस्नेरीबाट करिब ४ किलोमिटर पश्चिम पर्दछ ।
पछिल्लो समय वर्षायामको समय रहेकोले हेटौँडा–काठमाडौं जोड्ने विभिन्न सडकखण्डमा पहिलो जाने र बाटो अवरुद्ध हुने गरेको पाइएको छ ।















