हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा कोरियामा कार्यरत र फर्किएका नेपाली श्रमिकका परिवारलाई लक्षित गरी एक दिने वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हुने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियाली अन्तर्राष्ट्रिय सहयोग संस्था, खुसीपूर्ण आप्रवासन परियोजना र अंकुर नेपाल हेटौंडा सम्पर्क समितिको संयुक्त आयोजनामा उक्त परामर्श कार्यक्रम हुन लागेको हो ।
उक्त कार्यक्रम आगामी जेठ १६ गते गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो । कार्यक्रम रोयल पार्टी प्यालेस हेटौँडामा हुने अंकुर नेपाल हेटौंडा सम्पर्क समितिका सचिव माधव सापकोटाले जानकारी दिए ।
उनका अनुसार, कार्यक्रममा सहभागी परिवारलाई आर्थिक ज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिइनेछ । सहभागीहरुले विदेशमा कमाएको अनुभवलाई सकारात्मक रूपमा उपयोग गरी स्वदेशमै रोजगारका अवसर खोज्न सक्ने उनको भनाई छ ।
सहभागी परिवारका लागि खाजा र यातायातको व्यवस्था समेत गरिएका कार्यक्रममा १ सय २० जनाको सहभागिता रहने अनुमान आयोजकले गरेको छ ।

















