हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ११ः३० बजे गाडी पार्किङको विषयलाई लिएर विवाद भएपछि मनहरी गाउँपालिका–१ मकरीका ३०/३१ वर्षीय लक्ष्मण बर्तौलाले धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
धारिलो हतियार प्रहारबाट मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोले, ओखलढुंगाको सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगर, चितवन राप्ती नगरपालिका–२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रिन र राप्ती नगरपालिका–४ डडुवाका २८ वर्षीय जीवन तामाङ घाइते भएका छन्।
गोलेको ढाडमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। यस्तै, आले मगरको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पाख्रिनको छाती तथा ढाडको पछाडिको भागमा चोट लागेको छ भने तामाङको दाहिने आँखामा भित्री चोट लागेको छ।
घाइते चारै जनाको हेटौंडामा उपचार भइरहेकोमा थप उपचारका लागि शुक्रबार राति करिब ९:१५ बजे चितवन पठाइएको प्रहरीले जनाएको छ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी बसपार्क र वडा प्रहरी कार्यालय सानोपोखराबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनामा संलग्न रहेको आरोपमा लक्ष्मण बर्तौलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बर्तौलासहित हेटौंडा–१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौंडा–१५ भोर्लेका २८ वर्षीय करन लामा र मनहरी–१ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौला रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।














