मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर-१६, गुरुधामचोकस्थित स्कुटरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७६ वर्षीय अनिरुद्र बस्ताकोटी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, हिजो बिहीबार साँझ ८ः२० बजेको समयमा ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको बा.प्र.०३–०४ प ९५२६ नम्वरको स्कुटरले ठक्कर दिँदा बस्ताकोटी गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भवन नभएपश्चात उनलाई गएराति ९ः२० बजेको समयमा थप उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा १०ः५५ बजेको समयमा उक्त अस्पतालमा पुगेको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा गएराति नै ११ः४० को समयमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
मृतक बस्ताकोटीको शव सोही अस्पतालमा रहेको छ । यस्तै, सोही दुर्घटनामा परेर स्कुट चालक हेटौंडा–१७, ठुलोगँगटे बस्ने २७ वर्षीय सन्दिप थापा घाइते भएका छन् । घाइते थापाको कानको भाग, दाँया आँखामा र कम्मरको भित्रि भागमा चोट लागेको र अवस्थामा मध्यम रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । थापाको हेटौंडास्थित सीएमसी चुरेहिल अस्पताल उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
ठक्कर दिने स्कुटर अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















