हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित ओम्याक्स सिनेमा हल नजिक भएको सवारी दुर्घटनामा घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार दिउँसो करिब १ बजे सडक किनारमा उभिरहेका स्थानीय ४८ वर्षीय सन्तोष दासलाई कर्रातर्फबाट सिमाचोकतर्फ जाँदै गरेको बा.प्र. ०३–०४४ प २३९६ नम्बरको स्कुटरले ठक्कर दिएको थियो। दुर्घटनामा दासको टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइते दासलाई स्थानीयले तत्काल हेटौंडा अस्पताल पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
दुर्घटनामा संलग्न स्कुटर चालक मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनाका १८ वर्षीय मनिष गौतमलाई प्रहरीले घटनालगत्तै नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














