हेटौँडा । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको ३९ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मकवानपुरमा सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गर्दा १० जना चालकले गाँजा सेवन गरेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, ट्राफिक प्रहरी, सियान पुनर्स्थापना केन्द्र, जनस्वास्थ्य कार्यालय मकवानपुर तथा स्थानीय तहका जनप्रतिनिधिको संयुक्त सहभागितामा जिल्लाका विभिन्न स्थानमा सवारी साधन जाँच तथा स्वास्थ्य परीक्षण गरिएको थियो। सो क्रममा १० जना चालकमा लागुऔषध ९गाँजा० सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये बारा, गोरखा, सुनसरी, पर्सा, सर्लाही, रौतहट, मकवानपुर तथा महोत्तरीका चालकहरू रहेका छन्। उनीहरूविरुद्ध लागुऔषध सेवनसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार सवारी चालकले लागुऔषध सेवन गर्दा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता परीक्षण तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत लागुऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्ने विभिन्न गतिविधि सञ्चालन भइरहेका छन्।















