मकवानपुरगढीको एक घरमा आगलागी, २५ लाख बराबरको क्षति

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीमा रहेको एक घरमा आगलागी हुँदा घरसहित करिब २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय इन्द्रबहादुर कठायतको इँटा र काठले बनेको जस्तापाताको छानो भएको दुई कोठे कच्ची घरसँगै रहेको भान्साकोठामा बुधबार राति करिब ११ बजे अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

आगलागीको खबर पाएपछि पुगेको प्रहरी टोली, हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा बिहीबार बिहान १ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर तथा भान्साकोठा पूर्ण रूपमा जलेका छन्। पीडितका अनुसार लत्ताकपडा, भाँडावर्तन, काठपात, नगद ७० हजार रुपैयाँ, चार तोला सुन, एउटा मोटरसाइकल, एउटा क्यामेरा र एउटा कम्प्युटर सेट जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन। प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

आगलागीपछि पीडित परिवार छिमेकीको घरमा बसेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.