‘न्वागी’ पर्वले चेपाङ समुदायको मौलिकता झल्काउँछ: मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चेपाङ समुदायको महत्वपूर्ण पर्व ‘न्वागी ९छोनाम० २०८२’ ले मौलिक सांस्कृतिक पहिचानलाई झल्काउने बताएका छन्।

न्वागी पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री बानियाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको देश भएको उल्लेख गरे।

उनले भने, “यहाँका प्रत्येक जातजाति र समुदायको आफ्नै मौलिक परम्परा छ। चेपाङ समुदायको संस्कृति हाम्रो राष्ट्रिय सांस्कृतिक पहिचानको अविभाज्य हिस्सा हो।”

उनका अनुसार, ‘न्वागी’ पर्व चामल, पिठो, निबुवा लगायत फलफूलले भरिपूर्ण हुने पृथ्वीलाई भण्डारको रूपमा पूजा गर्ने र नयाँ फलफूल तथा अन्न खानुअघि इष्टदेवलाई चढाउने धार्मिक परम्परासहित मनाइन्छ। यस पर्वले नयाँ पुस्तालाई परम्परागत मूल्य–मान्यतासँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे।

मुख्यमन्त्री बानियाँले चेपाङ समुदायको उत्थान र विकासका लागि बागमती प्रदेश सरकार निरन्तर सहयोगी रहने प्रतिबद्धता जनाए। साथै, उनले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ पार्दै समाजवादको लक्ष्य हासिल गर्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए।

सो अवसरमा बागमती प्रदेश सरकारले धादिङ, मकवानपुर र चितवन जिल्लामा सार्वजनिक विदा दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.