हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १८ स्थित आरामपुर क्षेत्रबाट शनिबार लागूऔषध खैरो हेरोइनसहित प्रहरीले एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१८ मानेडाँडा निवासी ३४ वर्षीय बिनोद पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, उनको समाथबाट ४२० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । उनलाई प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट नियमित गस्तीमा खटिएको टोलीले पक्राउ गरेको हो ।
हिजो असार २१ गते दिउँसो साढे १२ बजेको समयमा धरान–चतरा सडकखण्ड हुँदै शंकास्पद रूपमा हिँडिरहेका पाख्रिनलाई चेकजाँच गरेको थियो । रीतपूर्वक गरिएको खानतलासीका क्रममा उनको साथबाट सो परिमाणको खैरो हेरोइन बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका पाख्रिनलाई लागूऔषध सम्बन्धी कसुरमा नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटौँडाबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















