हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवाहरूलाई आर्थिक उपार्जनमा जोड्न प्रदेश सरकारले बीउ पुँजीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार हेटौँडामा भएको मुख्यमन्त्रीसँग युवा संवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले युवाहरूलाई आर्थिक उपार्जनमा जोड्न सीपमूलक तालिमसहित प्रदेश सरकारले बीउ पुँजीको समेत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले युवा लक्षित कतिपय कार्यक्रमहरू बजेटको अभाव अघि बढ्न नसक्ने अवस्थालाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । पर्याप्त अधिकार नहुँदा औद्योगिक विकास र उद्यमशीलताको काम गर्न समस्या भएको उनको भनाई छ ।
उनले आर्थिक विकासमा महत्त्वपूर्ण स्थान ओगटेको औद्योगिक क्षेत्र तथा उद्योगका अधिकांश अधिकारहरू सङ्घ सरकार मातहत रहेकाले प्रदेश सरकारलाई काम गर्न कठिनाई भइरहेको बताए । नयाँ क्षेत्रमा काम गर्न लगानी पनि बढी गर्नुपर्ने भएकाले सीमित स्रोतको परिचालनले सम्भव नभएको उनले बताए ।
केही समयअघि सङ्घीय सरकारसँग सिमेन्ट उद्योग र कपडा उद्योगको स्वामित्व प्रदेश सरकारलाई दिन माग गरे पनि प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री लामाले हेटौँडा सिमेन्ट उद्योग र कपडा उद्योगको स्वामित्वको प्रदेशले पाए नाफा आर्जन गर्ने दाबी गरे ।
साथै उनले विज्ञान र प्रविधिसँग जोडिएको योजनालाई प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकता दिने बताए । युवालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्नुपर्ने नीति अनुरूप बजेट कार्यक्रम तयार गरिरहेको समेत उनको भनाई छ ।

















