राखेपको वार्षिकोत्सवमा मकवानपुरको बागमती गाउँपालिकालाई सम्मान

मकवानपुर । खेलकुद क्षेत्रमा गरेको उत्कृष्ट योगदानका कारण मकवानपुरको बागमती गाउँपालिका देशकै उत्कृष्ट स्थानीय तह घोषित भएको छ । काठमाडौंमा शुक्रबार आयोजित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औँ वार्षिकोत्सवका अवसरमा बागमती गाउँपालिकालाई सम्मान गरिएको हो ।

नेपाली खेलकुदको विकास र विस्तारमा बागमती गाउँपालिकाले गरेको कार्यलाई उदाहरणीय ठहर गर्दै सम्मान गरिएको राखेपले जनाएको छ । समारोहमा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्य–सचिव टंकलाल घिसिङसहितका पदाधिकारीले गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, खेलकुद समितिका अध्यक्ष रहर सिं थिङ र निवर्तमान अध्यक्ष अरुण बललाई सम्मानपत्र प्रदान गरेका थिए ।

राखेपले हरेक वर्ष खेलकुद क्षेत्रमा स्थानीय तहको लगानी, प्रतियोगिता आयोजना, पूर्वाधार निर्माण, खेलाडी उत्पादन तथा प्रोत्साहनजस्ता कामको मूल्याङ्कन गरेर उत्कृष्ट एक स्थानीय तहलाई सम्मान गर्ने परम्परा रहेको जनाएको छ ।

बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रंगशाला निर्माण, फुटबल एकेडेमी सञ्चालन र राष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको छ । यसपटकको मूल्याङ्कनमा यी उपलब्धिलाई आधार मानेर बागमती गाउँपालिका उत्कृष्ट घोषित भएको हो ।

यसैगरी, राखेपको वार्षिकोत्सवमा विभिन्न १८ विधामा सम्मान गरिएको छ, जसअन्तर्गत ५ जना खेलाडीलाई समेत सम्मान गरिएको परिषद्ले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.