हेटौँडा । नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ आज हेटौँडामा सम्मानित हुँदै छिन् ।
‘देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने नारासहित सञ्चारिका समूह नेपाल, मकवानपुरले हेटौँडाको पल्पसा सभा गृहमा आयोजना गर्ने कार्यक्रममा उनलाई सम्मान गर्न लागिएको हो ।
फुटबलमा ‘गोल मेसिन’ को उपमा पाएकी साम्बालाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ । सम्मान राशिको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक तथा शिक्षाविद् पुरणबहादुर जोशीले गरेका छन् ।
हेटौँडेली खेलप्रेमीहरू साम्बासँग प्रत्यक्ष भेटघाट गर्न पाउने आयोजकले जनाएको छ । साबित्राले नेपालका लागि ५० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्दै राष्ट्रिय टोलीलाई दक्षिण एशियाबाहिर चिनाएकी छन् ।
उक्त कार्यक्रममार्फत् उनको संघर्ष, सफलताको कथा र प्रेरणामूलक यात्रा नजिकबाट बुझ्न सकिने सञ्चारिका समूहकी अध्यक्ष निशा गुरुङले बताइन् । उनका अनुसार, यस्ता सम्मानले महिला खेलकुदको सम्मान र प्रेरणामा गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ ।
महिला खेलाडीको योगदानलाई सम्मान गर्ने यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गराउने र आगामी पुस्ताका लागि प्रेरणादायी वातावरण निर्माण गर्ने अपेक्षा राखिएको अध्यक्ष गुरुङले बताइन् ।

















