मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी सातौं शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज नवजनजागृती क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हिजो शुक्रबारबाट सुरु भएको गोल्डकप अन्तर्गत आज नवजन जागृती र संकटा क्लब भिड्ने भएको भएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित गौरीटार रंगशालामा हुने उक्त प्रतियोगिता आज अपराह्न ४ बजेबाट सुरु हुनेछ । हिजो भएको पहिलो दिनको प्रतियोगितामा चितवनले आयोजक टिम मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको थियो ।
हिजोको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी चितवनकी अनिता गुरुङलाई ‘प्लेयर अफ द म्याच’ घोषित गर्दै नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगिताको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले गरेकी थिइन् ।
प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः ५ लाख र ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

















