मकवानपुर । आगलागीले सबै थोक गुमाएको मकवानपुरका एक चेपाङ्ग परिवारले अन्ततः सुरक्षित बसोबासको ठाउँ पाएको छ। जिल्लाको राक्सिराङ्ग गाउँपालिका–३ लावतीकी निशा माया चेपाङ्गको घर गत चैत ४ गते जलेर पूर्ण रूपमा नष्ट भएपछि चेपाङ परिवार खोरियामा स्याउलाको छाप्रोमा बस्न बाध्य बनेको थियो।
तर, स्थानीय स्तरमै जुटेको सहयोग र श्रमदानले उनीहरूको जीवनमा फेरि आशा फर्काएको छ। श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरको पहलमा एक महिनाभित्रै नयाँ घर निर्माण गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।
गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिन्तानले निशा माया चेपाङ्ग, उनका श्रीमान् रमेश कार्की र छोरा जोशेप कार्कीलाई एक तल्ले र दुई कोठे घरको चाबी हस्तान्तरण गरे। करिब ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको घर श्रमदान र विभिन्न व्यक्तिहरूको सहयोगका कारण करिब २ लाख रुपैयाँमै निर्माण सम्पन्न भएको जनाइएको छ।

घर हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विपद्मा परेका नागरिकका लागि यस्तो सहकार्य उदाहरणीय भएको बताए। उनले पीडित परिवारका लागि शौचालय निर्माण तथा नागरिकता व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
त्यसैगरी, पार्टीका केन्द्रीय सदस्य मन्दिरा मोक्तानले दुःखमा परेका नागरिकको साथमा उभिनु नै पार्टीको प्राथमिकता भएको बताउँदै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने स्पष्ट पारिन्।

















