मनहरी खेलकुद महोत्सव अन्तर्गत फुटबल र भलिवलको खेल तालिका सार्वजनिक

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा जारी मनहरी खेलकुद महोत्सव अन्तर्गत हुने फुटबल र भलिबल खेलको खेल तालिका सार्वजनिक भएको छ । मनहरी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि मनहरी खेलकुद तथा व्यापार महोत्सव सञ्चालन भैरहेको हो ।

खेलकुद महोत्सवमा विभिन्न ६ वटा विधामा खेलकुदको प्रतिस्पर्धा हुँदैछ । मनहरीको ९ वटा वडामध्ये फुटबलमा १ नम्बर र भलिबलमा २ नम्बर वडाले सहभागिता जनाएको छैन । २४ देखि २८ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको उद्घाटनमा साविक विजेता वडा नम्बर ७ र ५ को बीचमा खेल हुने भएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्टले जनही नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै यही २६ देखि चैत्र १ गतेसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा पनि मनहरी गाउँपालिकाको ८ वटा वडाले सहभागिता जनाएको छ । लिगकम नकआउटको आधारमा सञ्चालन हुने भलिबलको उद्घाटन खेल ७ र ८ नम्बरको बीचमा हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भलिबलको विधागत उत्कृष्ट खेलाडीलाई नगदसहित ट्रफीको व्यवस्था रहेको आयोजक खेलकुद विकास समितिका अध्यक्ष विरु लामाले जानकारी दिए ।

फुटबल र भलिबलसँगै महोत्सवमा क्रिकेट, ब्याड्मिन्टन तथा एकसय मिटर र दुइसय मिटर दौड प्रतियोगिता हुनेछ । क्रिकेटको विजेता र उपविजेताले ३० हजार र २० हजार, ब्याड्मिन्टनको विजेता र उपविजेताले ३० हजार र २० हजार तथा एथ्लेटिक्स अन्तर्गतको एकसय मिटर दौडको विजेता र उपविजेताले १० हजार र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै २ सय मिटर दौडको विजेता र उपविजेताले १५ हजार र ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

खेलकुद विकास समितिको आयोजना, एभरेष्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा सञ्चालन भएको खेलकुद महोत्सवको संरक्षक मनहरी गाउँपालिकाको कार्यालय रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.