भारतको पश्चिम बंगालमा हेटौंडा फुटबल एकेडेमी सेमिफाइनलमा

हेटौंडा । भारतको पश्चिम बंगाल राज्यअन्तर्गत कालिम्पोङ जिल्लाको मुनसोङमा जारी ८०औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको क्वार्टरफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीले फारम ब्वाइजलाई ८–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

हेटौंडा फुटबल एकेडेमीका लागि कृष्ण आले मगरले ३ गोल गर्दै ह्याट्रिक पूरा गरे । कुमार लामा र पवन तामाङले समान २/२ गोल गर्दा दिवस श्रेष्ठले १ गोल थपे । खेलभर आक्रामक प्रदर्शन गरेको हेटौंडाले फारम ब्वाइजमाथि लगातार दबाब सिर्जना गरेको थियो ।
हेटौंडाको उत्कृष्ट रक्षात्मक प्रदर्शनका कारण फारम ब्वाइजले खेलमा एक गोल मात्र गर्न सकेको थियो । ह्याट्रिक गरेका कृष्ण आले मगर खेलको म्यान अफ द म्याच घोषित भए । उनले म्यान अफ द म्याचको गोल्डेन बुटसमेत प्राप्त गरेका छन् ।
योसँगै हेटौंडा फुटबल एकेडेमीले प्रतियोगितामा लगातार तीन खेलमा फराकिलो जित निकाल्दै उत्कृष्ट लय कायम राखेको छ । राउण्ड अफ ३२ को पहिलो खेलमा घरेलु टोली माम्रिङ ब्वाइजलाई ८–१ गोलले पराजित गरेको हेटौंडाले दोस्रो खेलमा हाइल्याण्डर वारियरलाई १३–२ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।
हेटौंडा फुटबल एकेडेमीले अब अगस्ट ११ मा सेमिफाइनल खेल खेल्नेछ । उक्त खेलमा जित निकाल्न सके हेटौंडा उपाधिका लागि फाइनलमा पुग्नेछ । हेटौंडा फुटबल एकेडेमीले विगत तीन वर्षदेखि भारतको सिक्किम तथा पश्चिम बंगालको कालिम्पोङ जिल्लास्थित मुनसोङमा आयोजना हुने इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
तीन वर्षको अवधिमा पहिलो वर्ष उपविजेता बनेको हेटौंडा फुटबल एकेडेमीले दोस्रो र तेस्रो वर्ष लगातार उपाधि जितेको थियो । मुनसोङ स्पोर्टस् एसोसिएसन क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल इन्डिपेन्डेन्स डे अर्थात् अगस्ट १५ का दिन हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । क्लबले यस वर्षदेखि प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेको हो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.