मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ र वडा नम्वर १ बाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिबार साँझ ५ बजेको समयमा हेटौंडा–४ बाट दुई जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको महेन्द्रनगर नगरपालिका–२ का ३४ वर्षीय जुनेन अन्सारी र ना १७ प ४१७६ नम्बरको मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–३ घर भई हेटौंडा–५, भैरबरोड बस्ने ३० वर्षीय विश्वराज रुपाखेती रहेका छन् । उनीहरुलाई ४ ग्राम ८१० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
यसैगरी, शनिबार साँझ ६ बजेको समयमा हेटौंडा–१ स्थित थोक तरकारी बजार नजिकै सडकबाट स्थानीय २४ वर्षीय सुशीलदास बनियालाई पक्राउ गरेको छ । शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई २ ग्राम ८० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई मकवानपुर प्रहरीले हिरासतमा राखी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

















