शहीदहरुको बलिदानका कारण मानव अधिकारको उपयोग गर्न पाएको हो: प्रदेश प्रमुख देवकोटा

हेटौँडा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शहीदहरुको बलिदानको कारण देश गणतन्त्रात्मक शासन व्यवस्थामा पुगेको बताएको छ । हेटौंडा ११ स्थित शहीद स्मारकमा आयोजित शहीद दिवस २०८१ समारोहलाई सम्बोधन गर्दै उनले नेपालीहरु मानव इतिहासकै अधिकतम स्वतन्त्रताको युगमा रहेको बताए ।

विगतमा नपाएको मौलिक र मानव अधिकारको उपयोग वर्तमान व्यवस्थामा गर्न पाएको उनको भनाई छ । प्रदेश प्रमुख देवकोटाले न्याय, स्वतन्त्रता, अस्तित्व र गौरवका लागि अमुल्य जीवन उत्सर्ग गर्ने वीर सहीदहरूलाई सधै स्मरण गरिरहनुपर्ने बताए । सहीदहरूको त्यागलाई सहिद सप्ताह र सहिद दिवसमा मात्र सिमित नराखी मुलुकको समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

यसैगरी समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र गणतन्त्र स्थापनामा शहीदहरुको ठुलो योगदान रहेको बताए । शहीदहरुको सम्मानमा शहीद स्मारकको पनि महत्वपूर्ण भुमिका रहेको उनको भनाई छ । मुख्यमन्त्री लामाले इतिहास झल्काउने पुरातात्विक सम्पदाहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने उल्लेख गरे ।

यसैगरी सभामुख भुवन कुमार पाठकले १ सय ४ वर्षीय जहानीय राणाशासनको कालो कालखण्डलाई चिर्न शहीदहरुले ठुलो त्याग गरेकै कारण प्रजातन्त्र स्थापना भएको बताए । सभामुख पाठकले शहीदहरुको बहादुरीकै कारण नेपाल कुनै पनि विदेशी राष्ट्रहरुको अधिनमा रहन नपरेको बताए ।

बागमती प्रदेश सरकारको आयोजना र शहीद स्मारक विकास समितिको व्यवस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रममा समितिका संस्थापक एवम् पूर्व उपाध्यक्ष स्व.श्रीचन्द्र शर्माको स्मृतिमा स्थापित श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार २०८१ बाट कवि एवम् साहित्यकार तुलसी घिमिरेलाई सम्मानित गरिएको छ ।

यसअघि शहीद स्मारकमा रहेको शहीदहरुको शालिकमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख सहित प्रदेश सरकारका मन्त्रीहरु लगायतले माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.