राक्सिराङ्ग–७ मा दामराङ घोषणा पत्र जारी

हेटौंडा। मकवानपुरको विकट राक्सिराङ्ग गाउँपालिकाले दामराङ घोषणा पत्र जारी गरेको छ। बिहीबार राक्सिराङ्ग गाउँपालिकाको वडा नं. ७ मा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उक्त घोषणा पत्र जारी गरेका हुन् ।

राक्सिराङ्ग गाउँपालिकाले १७ औं अधिवेशनको अवसरमा राक्सिराङ्ग वडा नं .७ क्षेत्रलाई स्थानिय सरकार ऐन, २०७४ अनुसार सांस्कृतिक र पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरेको छ। यस अवसरमा आयोजित स्वागत तथा अन्तरसंवाद कार्यक्रममा गाउँपालिकाका नेतृत्व, कर्मचारी, स्थानीय संघ, राजनीतिक दल, पत्रकार, र विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रमको अन्तर्गत १५० जना सहभागीहरूले छलफल गर्दै विभिन्न प्रतिबद्धतासहित घोषणा पत्र जारी गरेका छन्।

उक्त घोषणा पत्रमा सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकासका लागि विस्तृत गृह योजना तयार गर्न विज्ञ समूह गठन गर्ने तथा आवश्यक जिम्मेवारीहरूको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, गाउँपालिकाले टोल विकास संस्था गठन गर्ने र सबै सामुदायिक संस्थाहरूलाई सबलीकरण गर्दै सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास, प्रबद्र्धन र परिचालन गर्ने कुरा पनि उल्लेख गरेको छ।

सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रबद्र्धनका लागि राक्सिराङ्गले आठ प्रकारका कृषि उत्पादन र तीन प्रकारका जैविक विविधताहरूको विकासमा प्रतिबद्धता जनाएको छ। यसमा अलैची, अम्सो, आलु, अकबरे खुर्सानी, ओखर, अदुवा, अनार र अप् उत्पादन समावेश छन्। तसर्थ, चेपाङ समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारहरूको संरक्षण र प्रबद्र्धनका लागि पान्दे संरक्षण, परंपरागत ज्ञान र सीपको रक्षा, तथा सांस्कृतिक रीतिरिवाजहरूको संरक्षणमा ध्यान दिन पनि प्रतिबद्धता जनाइएको छ।

राक्सिराङ्ग गाउँपालिकाले सांस्कृतिक र पर्यटकीय क्षेत्रको विस्तार र प्रबद्र्धनका लागि आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्ने निर्णय पनि गरेको छ। थप बजेटको लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने योजना बनाएको छ। यसैगरी, राक्सिराङ्ग वडा नं। ७ क्षेत्रका भ्रमण, अवलोकन र अध्ययनलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालय र विश्वविद्यालयलाई आह्वान गर्ने प्रतिबद्धता पनि घोषणा पत्रमा समावेश गरिएको छ।

यस कार्यक्रमको आयोजनामा राष्ट्रिय जनवकालत, नेपाल र नेपाल सूक्ष्म पुष्प समाजको सहकार्य रहेको थियो। कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष गोविन्द चेपाङ, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्त बहादुर चेपाङ, राक्सिराङ्ग गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, राक्सिराङ्ग गाउँपालिका वडा नं। ७ का अध्यक्ष राम बहादुर प्रजा लगायतले मन्तव्य राखेका थिए।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.