हेटौंडा । हेटौंडा–१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना शुरू भएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविमा बेलुकी ९ः१५ बजेबाट भएको मतगणनामा शुरू भएको हो । दुई मतदान केन्द्रको मतपेटिकाबाट मतपत्र मिसाएर गणना भईरहेको । ८ हजार ५३ मतदाता रहेको वडामा ५ हजार ४८६ मत खसेको छ । यो कुल मतको ६८.१२ प्रतिशत हो । उक्त वडामा अध्यक्षका १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
जसमध्ये दलबाट ९ जना र स्वतन्त्र ३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । दलबाट एमालेका राजेश नगरकोटी, कांग्रेसका अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रका रवि कुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौँडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो ।
















