मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकासलाई दलीय स्वार्थभन्दा माथि राख्नुपर्नेमा जोड दिएका छन् । थाहा नगरपालिकाको चित्लाङमा आयोजित चित्लाङ हिल स्टेसन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले यस्तो बताएका हुन् ।
उनले विकासमा एकताको नयाँ भाष्य निर्माण गर्नुपर्ने भन्दै मकवानपुरको (दामन, पालुङ, चित्लाङ) लाई पर्यटनको हब बनाउन प्रदेश सरकारले विशेष लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । काठमाडौँ–चन्द्रागिरि–थाहा नगरको कनेक्टिभिटीले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने उनले बताए ।
मुख्यमन्त्री बानियाँले सङ्घीयता कार्यान्वयनमा प्रदेश र स्थानीय तहले प्रशासनिक क्षेत्रमा मात्र नभई आर्थिक तथा विकासका काममा सहकार्यको नयाँ नीति अवलम्बन गर्नुपर्ने बताए । प्रदेशले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत बजेट बेहोर्ने गरी विकासका ठुला आयोजनामा साझेदारी गर्न सकिने उनको भनाई छ ।

विगतमा प्रदेश सरकारले बनाएका कतिपय संरचनाहरू व्यवस्थापनको अभावमा बेवारिसे बनेको र ती संरचनाहरू स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने अवस्था रहेको बताए ।















