न्यौपाने र विश्वकर्मालाई जागरुक महिला सम्मान

मकवानपुर । रेडियो मकवानपुरले जिल्लाका दलित महिला अधिकारकर्मी पवित्रा विश्वकर्मा र अभिभावकविहीन बालबालिकाको पालनपोषण एवम् हेरचाह गर्दै आएकी ईन्दिरा न्यौपानेलाई जागरुक महिला सम्मान प्रदान गरेको छ ।

रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा दलित महिला संघ फेडो मकवानपुरका अध्यक्ष विश्वकर्मा र ग्रामीण जीवनस्तर सुधार मञ्च (हाम्रो घर बालगृह) का सञ्चालक न्यौपानेलाई यस वर्षको जागरुक महिला सम्मान प्रदान गरिएको हो । उनीहरुलाई जनही नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

विश्वकर्मा र न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी लगायतले सम्मान गरेका हुन् ।

विश्वकर्माले न्याय र समानतामुलक समाजको अभियानमा हिँडेको ३० वर्षको अवधिमा सम्मानित भएकोमा खुसी व्यक्त गरिन् । ‘दलित महिला अधिकारको क्षेत्रमा लागेको वर्षौं भयो । यो बीचमा धेरै खालका संघर्ष गरियो’, उनले भनिन्, ‘आज आफ्नै जिल्लाको सामुदायिक रेडियोले यो सम्मान प्रदान गरेकोमा खुसी लागेको छ ।’

अर्का सम्मानित व्यक्तित्व हाम्रो घर बालगृहका सञ्चालक न्यौपानेले निस्वार्थ ढंगले अभिभावकविहीन बालबालिकाको सेवामा लागिरहँदा सम्मान मिलेकोमा खुसी व्यक्त गरिन् । सम्मानले निरन्तर यो कर्ममा लागिरहन हौलसा मिलेको उनको भनाई थियो ।

रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा २ महिलालाई जागरुक महिला सम्मान र वार्षिकोत्सवको अवसरमा २ जनालाई सामुदायिक सम्मान प्रदान गर्दै आएको छ । यो अभियानलाई प्रत्येक वर्ष निरन्तरता दिँदै जाने योजना रहेको रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.