हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने तयारी गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि उनले यस्तो तयारी गरेको उनी निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी दिए ।
मुख्यमन्त्रीको एक वर्षे कार्यकाल बिताएका लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नयाँ नेता चयनका लागि निर्वाचन भएको थियो । संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन् ।
केही दिन अघि भएको संसदीय दलको निर्वाचनपश्चात लामाले मुख्यमन्त्री बन्न दलको नेता हुनु नपर्ने भन्दै आफुले पदबाट राजीजनान नदिने अडान राखेका लिए । तर, नेकपा एमालेले कांग्रेसको अन्तर विवाद चाडो नटुंग्याए आफ्नो पार्टीले सरकार छोड्ने दबाबपछि कांग्रेसका केन्द्रीय सभापति देउवाले लामाले काठमाडौं बोलाएर मुख्यमन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।
सभापति देउवाले पार्टी भित्रको विवादले कसैलाई पनि फाइदा नपुग्ने भन्दै दुबै पक्ष मिलेर जान निर्देशन दिएका हुन् । लामालाई लोकतान्त्रिक निर्णय स्वीकार गरेर अघि बढ्न सभापति देउवाले आग्रह गरेको उनी निकटका सांदद तीर्थ लामाले बताए ।
उनका अनुसार, मुख्यमन्त्री लामा आइतबारसम्म हेटौँडा आएर पत्रकार सम्मेलन गर्ने र सो पश्चात पदबाट राजीनामा दिने तयारीमा छन् । मुख्यमन्त्रीसहितका सांसदहरु अहिले काठमाडौंमा नै रहेका छन् ।
बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको आदी–आदी सकारको नेतृत्व लिने सहमती अनुसार सरकार बनेको छ । सो अनुसार, मुख्यमन्त्रीमा बानियाँलाई बनाउने तयारी कांग्रेसका सांसदहरुले गरेका छन् ।

















