हेटौंडा । सवारी दुर्घटनामा परी घाइते भएका प्रहरी सहायक हवल्दार किरण थापाको उपचारका क्रममा मृत्यु भएको छ । काभ्रे जिल्लाको बनेपा नगरपालिका–१२ घर भई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत ३२ वर्षीय थापाको उपचारका क्रममा आज मंगलबार मृत्यु भएको हो ।
जिल्ला पप्रहरी कार्यालय मकवानपुरका अनुसार गत असोज १५ गते राति करिब ९ः१५ बजे हेटौंडा उपमहानगरपालिका–१० मेनरोडस्थित पूर्व–पश्चिम सडकखण्डमा थापा सवार प्रदेश ३–०२–००७ प २२८४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ग २ ख १०७९ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएका थिए ।
कार्यालयको कामका लागि बुद्धचोक हुँदै कर्रातर्फ जाँदै गरेका थापा दुर्घटनामा परी घाइते भएका थिए । उनलाई तत्काल हेटौंडा अस्पताल लगिएको थियो ।
त्यसपछि थप उपचारका लागि चितवन मेडिकल कलेज हुँदै काठमाडौंको मेडिसिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा मंगलबार दिउँसो ३ः१५ बजे थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक स्याङ्जाको भीरकोट नगरपालिका–६ सिमलचौरका ३८ वर्षीय खगेन्द्र कोइरालामाथि सवारी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बताइएको छ ।














