हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले आफू दलको नेता भएको जानकारी पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई बुझाएका छन् ।
नेता बानियाँले बुधबार नै हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर आफू दल नेतामा निर्वाचित भएको जानकारी पत्र प्रदेश प्रमुख देवकोटालाई बुझाएका हुन् ।
दलको नेताको लागि बुधबार सम्पन्न निर्वाचनमा कुल ३५ मत खसेको थियो । तीमध्ये २२ मतसहित बानियाँ दलको नेतामा निर्वाचित भएका हुन् । उनले आफ्नो प्रतिस्पर्धी वर्तमान मुख्यमन्त्री बहादुर सिं लामालाई ८ मतान्तरले पराजित गर्दै दलको नेतामा विजयी भएका हुन् ।
मुख्यमन्त्री लामाले १४ मत प्राप्त गरेका थिए । कांग्रेस संसदीय दलको विधान २०७९ को धारा ५ को उपधारा (२) बमोजिम निर्वाचन गरिएको थियो । यसअघि लामालाई दलको नेतामा अविश्वास रहेको भन्दै नेपाली कांग्रेसका २१ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सो अविश्वासको प्रस्ताव उपर भएको निर्वाचतमा लामा पराजीत भएका हुन् ।
कांग्रेस संसदीय अभ्यास अनुसार दलका नेता नै मुख्यमन्त्री हुने प्रक्रिया रहेकाले नेता बानियाँले प्रदेश प्रमुख देवकोटालाई भेटेको जनाइएको छ । तर, लामाले भने दलको नेता नभएकोले नै आफुले मुख्यमन्त्री पदबाट राजीनामा दिनु नपर्ने अडान दिँदै आइरहेका छन् ।

















