कैलाशलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा

मकवानपुर । चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेको मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्तिचतता तथा दीगोपना घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख एंव जिल्ला खोप समन्वय समितिका संयोजक ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा कैलाशलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो ।

घोषणा गर्दै संयोजक घलानले खोप बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा प्रभावकारी, सुरक्षित र लागत–प्रभावकारी सार्वजनिक स्वास्थ्य हस्तक्षेप हो । नियमित खोप सेवामार्फत बालबालिकालाई विभिन्न सरुवा रोगहरूबाट सुरक्षित राख्न सकिने बताए ।

पूर्ण खोप सुनिश्चितता तथा यसको दीगोपना कायम गर्नु भनेको प्रत्येक बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्नु हो, उनले भने । कैलाश गाउँपालिकाले सबै लक्षित बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याई, छुटेका बालबालिकाको खोज तथा व्यवस्थापन गरी, नियमित अनुगमन तथा अभिलेखीकरणलाई प्रभावकारी बनाउँदै आज यो उपलब्धि हासिल गरेको छ । यो केवल स्वास्थ्य क्षेत्रको सफलता मात्र नभई समग्र समुदायको साझा उपलब्धि हो, संयोजक घलानले भने ।

उनले घोषणा गर्नु अन्तिम लक्ष्य होइन, यो अझ बढी जिम्मेवारीको सुरुवात हो । आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गर्न नियमित खोप कार्यक्रमलाई थप सुदृढ बनाउन, जन्मदर्तासँगै खोप सेवामा आबद्ध गराउन, बसाइँसराइ तथा दुर्गम बस्तीका बालबालिकालाई समेत समेट्न स्वास्थ्यकर्मीहरु ठुलो योगदान रहने बताए । राज्यले स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आइरहेको छ । सर्ने र नसर्ने रोगको निराकरण गरि दीगो कायम राख्न स्वास्थ्यकर्मीहरुको ठुलो हात रहने उनले बताए ।

ग्रामीण भेगमा सञ्चालन भएको अस्पतालमै उपचार गरि आमनागरिकले स्वास्थ्य सेवा ग्रहण गर्न सबैमा आग्रह गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष एंव खोप समन्वय समिति कैलाश गाउँपालिकाका संयोजक लोकबहादुर मुक्तानले नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै गाउँपालिकाभित्रका सबै लक्षित बालबालिकाहरूलाई पूर्ण खोपको पहुँचमा पु¥याई “पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा” गर्न सफल भएका छौं । यो उपलब्धि कुनै एक संस्था वा व्यक्तिको प्रयासबाट मात्र सम्भव भएको होइन, उनले भने ।

“यसमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरू, जनप्रतिनिधिहरू, अभिभावकहरू, विभिन्न संघ–संस्था तथा सम्पूर्ण समुदायको सक्रिय सहभागिता र सहयोग रहेको छ ।” खोप प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । स्वस्थ बालबालिका नै समृद्ध समाज र समुन्नत राष्ट्र निर्माणका आधार हुन्, खोपका माध्यमबाट हामीले बालबालिकालाई विभिन्न रोगहरूको जोखिमबाट सुरक्षित राख्ने गर्दछौं, अध्यक्ष मुक्तानले भने ।

त्यसैले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने हाम्रो साझा दायित्व हो । पूर्ण खोप सुनिश्चितता घोषणा केवल एउटा उपलब्धि मात्र नभई दीर्घकालीन जिम्मेवारी पनि रहेको बताउँदै जन्मिने प्रत्येक बालबालिकालाई समयमै खोपको पहुँच सुनिश्चित गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उनले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक बजेट, स्रोतसाधन तथा जनशक्तिको व्यवस्थापनमा निरन्तर ध्यान दिनुका साथै अब गाउँपालिकामा डाक्टर सहितको स्वास्थ्य सेवा सुरु भएको बताए । पालिका विकट छ, जनसंख्या कम छ, त्यसमा पनि सीमान्तकृत चेपाङ समूदाय र तामाङ समूदायको बसोबास रहेको अवस्थामा स्वास्थ्यको सबै स्थानमा सेवा प्रवाह भइरहेको उनले बताए ।

हामीले पोषण सुधार कार्यक्रम सुरु गरि अहिले वडावडामा कार्यक्रम कार्यान्वयनको अवस्था छ । अब हाम्रो लक्ष्य भनेको जिरो होम डेलिभरी हो त्यसमा पनि स्वास्थ्यकर्मीहरु दिन रात नभनि खटिरहुन भएको अध्यक्ष मुक्तानले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्री, जनस्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन मनिर आलम, सामाजिक विकास समितिका संयोजक तथा वडा २ का अध्यक्ष राजेन्द्र तामाङ घिसिङ लगायतले आफ्नो भनाइ राखेका थिए ।

कैलाशमा जन्मेदेखी १५ महिना सम्मका तीन सय सातजना बालबालिकाहरुलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतमले बताए । वडा १ मा १५ जना, वडा २ मा २१ जना, वठा ३ मा ४५ जना, वडा ४ मा २९ जना बालबालिकालाई खोप लगाइएको गौतमले बताए ।

उनका अनुसार वडा ५ मा २९ जना, वडा ६ मा १७ जना, वडा ७ मा ४७ जना, वडा ८ मा ४५ जना वडा ९ मा २४ जना र वडा १० मा ३५ जना बालबालिकालाई खोप लगाइएको छ । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य सम्बन्धी काम गर्ने विभिन्न गैरसरकारी संस्थाका प्रमुख, स्वास्थ्य चौकी इन्चार्ज, स्वास्थ्य स्वंमसेविका तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.